समाचार
एकीकृत वस्ती विकास योजना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
भौगोलिक रुपमा विकट र ज्यादै जोखिमयुक्त रुपमा रहेको पूर्वखोला गाँउपालिका वडा नं. ३ (साविक रिंगनेरह गा.वि.स. वडा नं. १ र २ ) का करिव ७०० घरपरिवारलाई तल्लो फाँट स्थित करिव २५० रोपनी जग्गामा एकीकृत वस्ती योजना कार्यक्रम लागू गरी व्यवस्थित वसोबासको व्यवस्था गर्ने सम्बन्धमा सरोकारवालाहरुबिच छलफल कार्यक्रम सम्पन्न भएको छ |
प्रदेश नं. ५ को प्रदेश सभा सदस्य माननीय श्री नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आचार्यले ५ नं. प्रदेशकै नमुना वस्तीको रुपमा विकास गर्न लागिएको एकीकृत वस्ती योजना कार्यक्रम लागू गर्न प्रदेश र संघबाट प्राप्त गर्न सकिने सम्पूर्ण सहयोग र सुविधाका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै आफू सदैव पूर्वखोला वासीको साथमा रहेको बताउनुभयो | कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष श्री नुन बहादुर थापा, गाँउपालिका उपाध्यक्ष श्री भागिरथी शर्मा भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत श्री भेषराज पन्थले एकीकृत वस्ती विकास योजना गाँउपालिकाको "ड्रिम प्रोजेक्ट" को रुपमा रहेको र यसको लागि गाँउपालिकाले जनताको महत्वपुर्ण साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो |
पूर्वखोला गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष्य श्री निलकण्ठ भट्टराई ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवाला जनताहरुले आफ्नो ठाउँ र थात थलो छोडेर आउनु पर्दा दु : ख लाग्ने भएपनि सबै जना एकै ठाँउमा मिलेर बस्न पांउनु खुसीको कुरा भएको बताउदै एकीकृत वस्तीमा खानेपानी, यातायात, बिजुली, शिक्षा, स्वास्थ्य, सुरक्षा, ढल निकास लगायतको सुविधा संगै सबै घर परिवारलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने बताएका थिए| कार्यक्रमको संचालन गाँउपालिकाका सूचना अधिकारी श्री मोहन ढकालले गर्नु भएको थियो |