समाचार
पुर्वखोला गाउँपालिकामा “बेलौतिघारी-झेमरांङ्ग-चेबुंङ्ग” मोटरबाटो उदघाटन सम्पन्न
जेठ -७, २०७५
पुर्वखोला गाउँपालिकामा “बेलौतिघारी-झेमरांङ्ग-चेबुंङ्ग” मोटरबाटो उदघाटन सम्पन्न
मिति २०७५/२/७ गते पुर्वखोला गाउँपालिकाको वडा न. ६ मा पर्ने करिब ४ कि.मी. “बेलौटिघारी-झेमरांग- चेबुंग” नयाँ ट्रयाक खोलेको कच्ची मोटरबाटो पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले उद्घघाटन गर्नु भएको छ ।
प्रमुख अतिथिको रुपमा मन्तव्य दिँदै अध्यक्ष नुन बहादुर थापाले बिकासको पहिलो खुड्किलो मोटरबाटो भएको र गाउँमा न्युनतम आबश्यकता पुरा भए बसाई सराई रोक्ने र जनतालाई घरमै बसेर ब्यबसायीक खेति गरेमा आयआर्जन गर्न सक्षम हुने बताउनु भयो । उहाँले गाउँपालिकाबाट आगामी दिनमा खानेपानी, विद्युत, स्व्स्थ्य तथा शिक्षा क्षेत्रमा रहेका कठिनाईहरुलाई क्रमश: सम्बोधन गर्दै जाने र कृषि क्षेत्रको पकेट एरिया बनाउने गरी कार्यक्रम ल्याउन लागिएकोले आ-आफ्नो तर्फबाट सहयोग गरी हातेमालो गर्न स्थानीयबासीलाई अनुरोध गर्नुभयो।जनता आफै मालिक बन्ने गरी उत्पादन बढाउन सुझाबसमेत दिनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद पौडेलले गाउपालिकाले लक्षित गरी अगाडि बढाएको मोटरबाटो निर्माण कार्यमा स्थानीय जनताले हातेमालो गरी पूर्ण सहयोग पुर्याएकोमा सम्बन्धित सबैलाई धन्यबाद दिँदै आगामी दिनमा वडा कार्यालयसम्म सडकको पहुँच पुग्ने गरी योजना निर्माण गर्न सुझाव दिनुभयो। साथै भौतिक पूर्वाधारसँगै स्थानीय विशेषता झल्किने उत्पादनमूलक कार्य गर्दै गाउँमा होम स्टे संचालन गर्न र पर्यटक पाहुनाहरुलाई आकर्षित पार्ने गरी लोक संस्कृतिको विकास गर्न योजनाबद्ध रुपले लागि पर्न सुझाव दिनुभयो।
कार्यक्रमका अतिथि एवं गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष निरबहादुर सारुले भौतिक पूर्वाधारको रुपमा विकास भएको यो बाटोले यहाँका जनताहरुलाई कृषि पेशाबाट उत्पादित बस्तुहरु बजारमा पुर्याउन सघाउ हुने र बाहिरको मालसामान ढुवानी गर्न सहयोग पुग्ने भएकोले अब यहाँका बासिन्दामा बसाई सराई गरी अन्यत्र जाने क्रमलाई रोक्ने विस्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टिका जिल्ला सदस्य देवीप्रसाद पंगेनीले निर्वाचनका क्रममा जनप्रतिनिधीहरुले जनतालाई दिएका आश्वासनहरुमध्येको यो बाटो निर्माण पनि भएकोले पुरा गरेकोमा जनपर्तिनिधीलाई धन्यबाद र त्यो सपना पूरा भएकोमा यहाँका बासिन्दालाई बधाई दिँदै जनप्रतिनिधीले हुने कार्य मात्र योजनामा समाबेश गर्न सुझाव दिनुभयो।
कार्यक्रममा त्यसै वडाका वडाअध्यक्ष मन बहादुर सारूले यो जस्तो विकट बस्तीमा पहिला मोटर बाटो नहुँदा जनताले विरामी पर्दा अकालमै ज्यान गुमाउनुपरेकोमा अबदेखी मोटर बाटो आएकोले समयमै स्वास्थ्य चौकी, अस्पताल पुरयाई अ-कालमै ज्यान जानबाट रोक्न सक्ने बताउनु भयो।
गाउँपालिकाका सुचना अधिकारी मोहन ढकालले गाउँपालिकाले यसै आर्थिक वर्षदेखी नै सबै वडा कार्यालयअन्तर्गत रहेका स्वास्थ्य चौकीहरुमा २४ घण्टे प्रसुति स्याहार सेवा संचालन गरी शून्य घर प्रसुती अभियान अगाडि बढाइको महत्वाकांक्षी कार्यक्रमको लक्ष पूरा गर्न सघाउ पुर्याउने गरी यस बाटोले यहाँका जनताहरुलाई सेवा दिने बताउनुभयो ।
पदम बहादुर गाहाको स्वागत मन्तब्य बाट सुरू भएको कार्यक्रम बाटो उपभोक्ता समितीका अध्यक्ष तारा बहादुर काम्मुको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको सॅचालन वडा कार्यालयका टेक बहादुर बारघरेले गर्नुभएको थियो । उक्त बाटो आर्यभञ्ज्याङ-रामपुर सडक “सहिद आलोक राजमार्ग”बाट करिब ४ किलोमिटर भित्र झेमराङ्ग हुदै चेवुङ्ग गाउँको दुर्गम बस्ति पिपेन्दी पलेङ गाउँसम्म पुगेको छ। मोटर बाटो पुगेपछी पिपेन्दी पलेङ टोलका स्थानियहरु जनताहरु खुशी देखिएका छन।