समाचार
पूर्वखोलामा कोरोनालाई जितेर घर फर्कने बढ्दो क्रममा
पूर्वखोलामा कोरोनालाई जितेर घर फर्कने बढ्दो क्रममा
पूर्वखोला गाउँपालिका वडा नं. ३ स्थित उद्बुद्ध मा.वि. आइसोलेसन कक्षमा रहेका ४८ जना पूर्वखोला वासी कोरोनालाई जितेर घर फर्केका छन् | पूर्वखोला गाउँपालिकाद्वारा आयोजित आइसोलेसन कक्षमा बसेकालाई विदाई कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाले डिस्चार्ज लेटर दिएर विदाई गर्दै भन्नुभयो "कोरोना विश्वव्यापी महामारीको रुपमा फैलिदै विश्वलाई नै आक्रांत पारेको वर्तमान अवस्थमा हामी सबै सचेत र सजग भई निश्चित नियम र अनुशासन भित्र रही आफ्नो दैनिकी संचालन गरेमा कोरोनालाई पराजित गर्न सकिने र यसको प्रमाण तपाईहरु स्वयं हुनुहुन्छ |" कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्री रुद्र बहादुर पछाई, स्वास्थ्य शाखा प्रमुख श्री मोहन ढकाल , उद्बुद्ध मा.वि. व्यवस्थापन समितिका अध्यक्ष श्री कृष्ण प्रसाद भट्टराई, उद्बुद्ध कलेज प्रमुख श्री शुशील न्यौपाने , उद्बुद्ध मा.वि. प्र.अ. श्री लोकहरि देवकोटा लगायतले सबैलाई शुभकामना दिदै निश्चित नियममा रहेर आफु बचौं र अरुलाई पनि बचाऔं भन्ने मान्यतालाई आत्मसाथ गर्न आग्रह गर्नुभयो |
वडा नं. ३ का वडा अध्यक्ष श्री निलकन्ठ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले भारतबाट फर्केर नेपाल प्रवेश गरेदेखि क्वारेन्टाइन तथा आइसोलेसन कक्षमा बस्दासम्मको क्रममा गाउँपालिकाले गरेको व्यवस्थापन तथा स्वास्थ्य शाखाले पुर्याएको स्वास्थ्य सेवा सहयोगका लागि गाउँपालिकालाई र स्वास्थ्य शाखा प्रमुखलाई विशेष धन्यवाद ब्यक्त गर्नुभएको थियो | कार्यक्रमको संचालन रिङनेरह स्वास्थ्य चौकी प्रमुख श्री श्रीराज आचार्यले गर्नुभएको थियो |